हेटौंडा | मोबाइल एसोसिएसन अफ नेपाल (म्यान) मकवानपुरको आगामी माघ १९ गते हेटौंडामा १३औं वार्षिक साधारणसभा तथा ७औं अधिवेशन हुँदैछ। यस अवसरमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेभएको छ। अध्यक्ष र उपाध्यक्ष पदमा प्रतिस्पर्धा रहेकाले यही दुई पदका लागि मात्र मतदान गरिने निर्वाचन आयुक्त दिनेश लामाले जानकारी दिएका छन्। अन्य पदहरूमा भने निर्विरोध चयन भइसकेको छ।
अध्यक्षका लागि दुई उम्मेदवारबीच प्रतिस्पर्धा
अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपाने (सागर) र उपाध्यक्ष रोहिणीप्रसाद गौतम (गोपाल) प्रतिस्पर्धामा छन्। दुबै उम्मेदवार लामो समयदेखि मोबाइल व्यवसायमा संलग्न रहँदै आएका छन् भने म्यान मकवानपुरको कार्यसमितिमा विभिन्न पदमा रहेर संगठनको हितमा काम गरिसकेका छन्।

न्यौपानेले महासंघसँगको सहकार्यलाई अझ सशक्त बनाउने, कर तथा लेखासम्बन्धी तालिम सञ्चालन गर्ने, अस्वस्थ प्रतिस्पर्धालाई अन्त्य गर्ने, बजार व्यवस्थापन समिति गठन गर्ने र मोबाइल व्यवसायको मार्जिनलाई १० प्रतिशतमा ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्। उनले मोबाइल व्यवसायीहरूलाई लगानीमैत्री वातावरण सिर्जना गर्ने, ईएमआई प्रणालीमा भइरहेको विभेद अन्त्य गर्ने, संगठनको भवन निर्माणका लागि १ लाख रुपैयाँको सहयोग गर्ने र व्यवसायीहरूका लागि रोजगारी सिर्जना गर्न तालिमहरू सञ्चालन गर्ने योजना प्रस्तुत गरेका छन्।
उता, गौतमले आफ्नो उम्मेदवारी घोषणा गर्दै व्यवसायीहरूको हकहितको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाए ।
कर तथा लेखासम्बन्धी तालिम सञ्चालन गरेर व्यवसायलाई सहज बनाउने, सेकेण्डह्याण्ड, एक्सचेन्ज तथा मोबाइल अनलकसम्बन्धी सम्झौतापत्रलाई परिमार्जन गर्ने, अस्वस्थ प्रतिस्पर्धा हटाउने र उत्तरी तथा पश्चिमी शाखालाई अझै गतिशील बनाउने उनको प्राथमिकतामा छ। साथै, पूर्वी क्षेत्रमा शाखा विस्तार गर्ने, हितकोष स्थापना गरेर ५५ हजार ५ सय रुपैयाँबाट सुरुवात गर्ने, व्यवसायीहरूको बिमा रकम २ लाख रुपैयाँसम्म वृद्धि गर्ने, दक्ष जनशक्ति उत्पादन गर्न तालिम सञ्चालन गर्ने, र डिलर तथा रिटेलरहरूबीचको सम्बन्ध सुधार गर्ने योजना उनले अघि सारेका छन्। सम्मेलनमा गौतमले आफू विजयी भएमा आफ्ना उपविजेतालाई बोर्डको सल्लाहकारमा नियुक्त गर्ने जानकारी दिए।
निर्विरोध चयन
निर्वाचन प्रक्रिया अनुसार, वरिष्ठ उपाध्यक्षमा राजकुमार दहाल, महासचिवमा मिलन स्याङ्तान, कोषाध्यक्षमा प्रवेश चापागाई, सहकोषाध्यक्षमा पुष्पराज गौतम र सचिवमा सुमन रायमाझी निर्विरोध चयन भएका छन्। त्यस्तै, कार्यसमिति सदस्य पदमा एदिस रिजाल, जीवनाथ अधिकारी, पप्पु कुमार केसरी, सन्तोष दाहाल, अदाम हुसेन मंसुरी, र निरोज रिमाल निर्विरोध निर्वाचित भएका छन्।
हाल म्यान मकवानपुरमा १३४ जना सदस्य रहेका छन्, जसमा हेटौंडा क्षेत्रका १ सय ३ जना, मनहरी क्षेत्र (पश्चिमी क्षेत्र) का १८ जना, र थाहा नगर (उत्तरी क्षेत्र) का १३ जना सदस्य छन्। मोबाइल व्यवसायीहरूको संख्यामा वृद्धि भइरहे पनि म्यान मकवानपुरमा सदस्यता लिएर संगठनमा आबद्ध व्यवसायीहरूले मात्र मतदान गर्न पाउने नियम रहेको अध्यक्ष नवराज चौलागाईं बताउँछन्।
म्यान मकवानपुरको निर्वाचन माघ १९ गते वार्षिक साधारणसभा तथा अधिवेशनकै अवसरमा हुनेछ। मतदानमा संगठनका सबै वैध सदस्यहरूको सहभागिता रहनेछ। अध्यक्ष पदका दुवै उम्मेदवारहरू व्यवसायीहरूको हितमा आफूले उत्कृष्ट काम गर्ने प्रतिबद्धता जनाउँदै मतदाताहरूलाई आफ्नो पक्षमा ल्याउन सक्रिय छन्। अब, नेतृत्व कसको हातमा जाने भन्ने टुंगो माघ १९ गते मतदानपछि लाग्नेछ ।