हेटौडा – हेटौडा ४ स्थित आधुनिक राष्ट्रिय माविमा अब कक्षा १२ सम्म विज्ञान संकाय अध्ययन सुरु हुने भएको छ । आज विद्यालय स्थापना दिवसको अवसरमा आयोजना भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिम खानले विद्यालयमा +२ साइन्स अध्ययन गराउने घोषणा गरेका हुन् ।
आधुनिक राष्ट्रिय माविको ५७ औं स्थापना दिवसको अवसरमा आज विद्यालयका अध्यक्ष समिम खानको अध्यक्षता तथा हेटौडा उपमहानगरपालिकाको मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । २०२४ सालमा स्थापना भएको श्री आधुनिक राष्ट्रिय माविको ५७ औं स्थापना दिवसको अवसरमा २० जना अति विपन्न विध्यार्थी लाई छात्रवृत्ति घोषणा गरेर कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख मिना लामाबाट केक काटेर उद्दघाटन भएको हो । उक्त कार्यक्रममा हेटौडा उपमहानगरपालिकाको ४ न.वडा अध्यक्ष्य नबिन सिग्देलको विशिष्ट आतिथ्यता रहेको थियो । सिग्देलले +२ साइन्स कक्षा सञ्चालन मा सहयोग पुर्याउने उद्येश्यले थप साइन्स ल्याब निर्माणका निम्ति बजेट विनियोजन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

सोही कार्यक्रममा विद्यालयका निवर्तमान प्रधानाध्यापक ऋषिराम उपाध्यायलाई प्रमुख अतिथि लामाले सम्मान गरेर स्थापना दिवशकाे उपलक्ष्यमा विद्यालय परिवार भित्र शुभकामना आदान प्रदान गरी कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयमा +२ साइन्स अध्ययन गर्न चाहिने विद्यार्थीहरुलाई मंगलबार देखि विद्यालयमै निशुल्क ब्रिज कोर्स तयारी गराउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिम खानले जानकारी दिए ।