पहिलो पाइला शिशु स्याहार केन्द्र हेटौंडाको तेस्रो अभिभावक भेला आज सम्पन्न भएको छ । अभिभावक भेला संस्थाका अध्यक्ष अंकिता सुमार्गीको सभाध्यक्षता एवम् बागमती प्रदेश विश्व विद्यालयका उपाध्यक्ष कुसुम राज सुवेदीको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि सुवेदीले काठमाडौं बाहिरको उत्कृष्ट मण्डेश्वरीको रुपमा आफूले पहिलो पाइला रहेको कुरा अनुभूति भएको बताउनुभयो । चीतवनको ८ देखि १० वटा मन्टेश्वरीमा प्रमुख अतिथिको रुपमा आफू गएपनि यत्तिको खँदिलो, राम्रो, आफूले नदेखेको पनि बताउनुहुँदै अभिभावकहरुले बोलेको, बालबालिकाहरुले प्रस्तुत गरेको क्रियाकलापले उत्कृष्ट रहेको अनुभूति भएको र आमाको काखबाट आएका बालबालिकाहरुले प्रस्तुत गरेको क्रियाकलापले कुन चैं आमाबावुको आँखा रसाएन होला र ? भन्नुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य तथा हेटौंडा एकेडेमीका अध्यक्ष अरुणराज सुमार्गीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको समयमा स्थापना गरेको यस संस्थाले अहिलेसम्म धेरै नै उन्नती गरेको भन्नुहुँदै आगामी दिनको शुभकामना दिनुभयो । उहाँले २ जना बालकबाट संस्था स्थापना गरेको स्मरण गर्नुहुँदै पहिलो पाइलाका शिक्षक एवम् बालबालिका हेरचाह गर्ने सहयोगीहरुलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा प्याब्सन अध्यक्ष विनोद सुवेदीले पहिलो पाइलाले मकवानपुलाई शिक्षाको हब बनाउने उद्देश्य अनुसारको काम गरेको भन्दै प्रशंसा गर्नुभयो। मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष शुशील घिमिरे, आरम्भ शिशु स्याहारकी अध्यक्ष शुशीला भण्डारी लगायत विभिन्न विद्यालयका अध्यक्ष, प्रध्यानाध्यापक लगायत अभिभावकहरुको सहभागीता रहेको थियो । सो क्रममा सोही शिशु स्याहार केन्द्रमा अध्ययनरत् बालबालिकाले नृत्य प्रस्तुत गरेको थिए ।
