काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) ले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । आज पत्रकार सम्मेलनमार्फत पार्टीका महासचिव घनश्याम भुसालले आन्दोलनका कार्यक्रम घोषणा गर्नुभएको हो ।
सुशासन कायम गर्न र अन्य समस्या समाधानका मागसहित पार्टीले आन्दोलन शुरू गरेको उहाँले बताउनुभयो । पार्टीले आन्दोलनका कार्यक्रमअन्तर्गत पार्टीभित्र छलफल, सुझाव सङ्कलनसहित चैत २० गते सरकारलाई ज्ञापनपत्र बुझाउनेलगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।

यसैबीच समाजवादी मोर्चाको आज बसेको बैठकले पछिल्लो समय भइरहेका प्रतिगामी कदमलाई असफल बनाउन बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्नेसहित विभिन्न निर्णय गरेको छ ।
आज (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले भोलि बुद्धिजीवी र नागरिक समाजसँग छलफल गर्ने निर्णय गरेको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो । मोर्चाले चैत १५ गते काठमाण्डौमा वृहत् विरोध कार्यक्रम गर्नेसमेत निर्णय गरेको छ । साभार उज्यालो अनलाइन